कन्डक्टरले भने, “ल पोखरा बसपार्क आयो । झर्ने छ कोही ?”
“अ दाइ रोक्दिनोस ।” हल्का खोकेर स्वर निकाल्दै मैले भने ।
ल ल छिटो झर्नोस…… गाडी टक्क अडियो । म बसबाट उत्रिए । कहाँ पुग्नुपर्ने मान्छे म तर मन भन्दै थियो “यो बस नछोड ।”
मन तैलेँ त ठिक भनेको थिइस यार, मैले त्यो बस पनि गुमाए र जीवनको बस पनि समात्न सकिन । सायद समात्न सकेको भए मेरो मनले चैनको सास फेर्न पाउथ्यो कि ? अनायसै उनको तस्वीर जोडेर जीवनको हरेक प्रहरको यात्रा, धमिल्याउन त पर्ने थिएन ।
थकान धेरै, भोक कम, होटेलमा पसँे, चिया अडर गरेँ । चियाको चुस्कि सँगै, साला यो मन त गाडीमै छ, अझ सिट नं वि (चार), जहाँ कोही थिएन । त्यहाँ पछी कोही आएर बस्यो । आखाँ एकछिन टक्क अडियो र उनको तस्बिर दिलमा छापियो । म केही गर्न नस्कने मान्छे । अहिले एक मन धिक्कार मान्दैछ, कमसेकम नाम त थाहा पाउन पाएको भए ! फेरि मनले भन्छ “नाम थाहा नभएर के भो तैले उस्को तस्वीर लिने समय त पाइस नि” ठिक भनिस मन, मैले त्यो पल गलत गरेको थिएँ र थिइन पनि । मुटुको माया मुटुमै बसेको राम्रो लाग्यो र सम्झिदै रोमान्चित भएँ ।
चियाको गिलास खाली भैसकेछ, मलाई न चिया पिएको याद आउँछ न स्वादनै, न त चियाको कुनै प्रभाव थियो । कसैलाई मनको क्यानभासमा सजाउन कुनै दिन, महिना र साल कुर्नु नपर्दो रहेछ । देख्ना साथ आँखाँको साहायताले सेल्फी खिची दिलको वालमा फ्लेक्स प्रिन्ट गरिसकेको थियो । अहिले दिमागको प्रोजेक्टरले ति पलका रंगिन दृष्यलाई चिम्लियका आँखा अगाडी प्रोजेक्टराइज गरिरहेको थियो । म आफ्नो त्यो पल एक्लै हेर्दै रमाउदैछु अहिले ।
धत् यार भन्नै बिर्सेछु, उनी बसमा मुग्लिन बाट चढेकि थिइन । समयको हेक्का राख्दा त्यो दिन साउन १९, २०७२ साल करिव दिउँसोको २ः१० बजेको हुदो हो । बाहिर मौसम उकुस मुकुस थियो, पानी कति बेलापर्ने हो तर मेरो मन पानी पानी चँै अवश्य भएकै थियो । अरु धेरै ब्युटी कुइन, हिरोनीहरु, विश्व सुन्दरीहरु र मै राम्रीहरुलाई सम्झिदा ति त के राम्रा रहेछन र मैले त उनलाई देखेको नै रहेनछु । हाम्रो यात्रा मात्र ३६ किलोमीटरको लागि थियो, मिनीबसको यात्रा यात्रुको चाप अल्ली बडयो । सँधै झन्झट लाग्दो, रोक्ने, ओराल्ने, हर्नको टिट टिट अनि दिग्द्धार लाग्दो यात्रा । तर आज भिन्नै रमाईलो र रोमाञ्चकताले भरिएको यात्रा थियो ।
मेरो सिटमा एउटा अपरिचित मित्र थिए । अन्याथा म उनलाईसँगै बस्ने अफर पनि गर्न सक्थे तर उनी बसेको सिटमा त एक जनालाई ठाऊँ खाली थियो । सोचेँ यहँीँ बसौँकी जाउँ, तर एउटा केटो बसिरहेको सिट छोडेर केटीसगँ गएर बस्न हिक्मत कस्को बाउले जुटाइदियोस ्! त्यो पनि महिला सिटमा ।
उनि बसेको सिटको झ्याल आधा खोलिएको थियो, आधा खोलिएको झ्यालबाट छिरेको हावा उनको कपालसगँ दोहोरी खोल्थ्यो र उनी मिलाउथीन । अनी बिचबिचमा उनका गाजलु अनि नसालु आँखाँले कर्के पारेर जब मतिर हेर्थीन र आँखाँ जुधाउन खोज्थीन तब हर प्रयासमा म नै फेल हुन्थे । उनले नहेरिदिएको भए पनि मलाई केही हुने थिएन । जाबा केटी कति हेरियो कतिले हेरे बाल मातलब तर त्यो हेराईमा केही विशेष थियो अनि केही फरक पनि ।
उनलाई हेर्दा एक किसिमको आनन्द त आउछ तर एकोहोरो हेरिरहन डर पनि उस्तै लागिरहेको थियो । उनको सानो गोलो मोहोडाको अनुहारमा साना साना ओठ, त्यसैमाथि हल्का दलिएको लिपीस्टिक । उनको कपालको त कुरा नै छाड्दिउँ, त्यसैमा लट्पटिएर सारा जबानी बिसाउँ जस्तो । हिमालयको हिउँको चमकभन्दा कम थिएनन् उनका मिलेका दाँत त्यसमा चुच्चो चुच्चो नाकमा नथ्थी सारै सुहाएको । उनको ओठको तल्लो भागको कोठीले बसमा अरुको पनि ध्यान आकर्षण गरीरहेको थियो ।
एक वर्ष अगाडिको कुरा सम्झेर मनमा ताना बाना बुन्दै गर्दा आज । “को हौ तिमी” । कमसेकम नाम पनि नजानेर त्यो दिन ओर्लदा आज दुःख लागिरहेछ । न मैले उनि सँग नाम सोध्न सके, बिचरा उनी पनि परिबन्धको शिकार थिईन समाजको ।
उनी सगँको त्यो ३६ कि.मी. यात्राले मलाई आभास दिलायो आखिर प्रेम के हो ? ए “मुटुमा बसेकी मान्छे” म त यसैलाई प्रेम भन्दै बसिरहेछु । तिमी नै भन न, म यसलाई प्रेमको नामले पुकार गर्न सक्छु, कि ? सक्दिन ?
प्रेम भन्नलाई कि म सगँ लामो समयसँगै बस्दाको साथ, अनि केही रमाइला दिन हुनुपर्छ, अनि एक दुई डेटीङ, डीनर, लन्च र एक पलको कफी त, हुनु पर्छ । यदि प्रेम सपना हो, भने मेरा हरेक रात तिम्रो सपना देख्दैमा बित्छन, सपनीमा त मैले तिमीलाई छोएको पनि छु,, तिम्रो कोमल शरीरको स्पर्सको आभास गरेको पनि छु । अनि जब तिम्रो हातमा समातेर आफ्नो अङगालोमा कसेर रून थाल्छु भन्छु, “किन समयले छुटार गयो हामिलाई ?”
घाती दुनिया तिम्रो प्रतिउत्तर सुन्न नपाउदै ब्युझाइदिन्छ । कि त तिम्लाई सम्झेर तिम्रो लागि मर्नु पर्ने हो ? माफ गर्नु म यो गर्न सक्दिन । मसँग त हातमा कोर्न तिम्रो नाम छैन, खुशी लाग्छ आफ्नो प्रेमको नाम आफै राख्न पाकोमा “मनमा बसेकी मान्छे” । मनबाट झिकेर तिम्रो तस्वीर देखाई तिमीलाई खोज्न मन लाग्छ । तर डर लाग्छ दुनियाँ सारा डाहाले जल्नेछ , तिम्रो सुन्दरता देखेर, अनि मबाट खोसेर लाने छ तिमीलाई , नाई म तिमीलाई कदापी टाढा हुन दिन्न । तिमी धेरै राम्री छौ त्यो एक घण्टाको यात्राले मेरो जीवनको बिस वर्ष नै भूलाइदिने त हैन, डर पो लाग्न थाल्यो मलाई । तिम्रो याद त नसालु रैछ, आजकल म चौबिसै घण्टा झ्याप हुन्छु ,जता हेर्छु तिम्रै तस्वीर मात्र देख्छु । त्यसरी देखे पनि मैले त्यसमा रमाउन सक्दिन, आँखाँ लोलाउछन, आँखाबाट खसेको आशु, जब मेरो चिउडो हुदै भूईमा तप्प तप्प खस्छ, अनि थाहा पाउछु ।
मलाई डर लागेको छ, मुटुमा बसेकी मान्छेका ती राम्रा याद आजकल केही मधुरा बन्दै छन । कि मलाई यस्तो भ्रम भयो ? हुनसक्छ तिमी फेरि मेरो जीवनमा आउने छौ भगवानले बनाएर पठाएको जोडी हो हाम्रो, एक दिन मिलन अवश्य हुनेछ । त्यो भेटमा त म तिमीलाई “मुटुमा बसेकी मान्छे” होइन तिम्रो नामले सम्बोधन गर्ने छु ल ! सोच्दा सोच्दै भुगोल पार्कबाट उठेर बसन्तपुर तिर लाग्दै गर्दा, सालिक अघीको जेब्ब्रा क्रसिङमा कसै सँग मेरो कुम ठोकिन्छ । झल्यास् बिउँझिन्छु, सरी, ए तिमी ! कहिले आयौ काठमाण्डौँ तिर ! उनले भनिन् , “को हौ तिमी ?”
कथा – “को हौ तिमी ?”









