राजनीतिक नेतृत्वबारे हाम्रो कल्पनामा धेरै रूपहरू भेटिन्छन्। कुनै स्थानमा नेता शक्ति र अनुशासनको प्रतीक हुन्छन्; कतै उनीहरू संरक्षक, मार्गदर्शक र सामूहिक चेतनाका निर्माता। मानव इतिहासमा यी रूपकहरू धेरै पात्रहरूमार्फत प्रकट हुन्छन्। तर, मूसा जस्तो दीर्घकालीन प्रभाव छोड्ने चरित्र दुर्लभ छ। हिब्रू बाइबलमा आधारित मूसा–कथा धार्मिक विषयजस्तो देखिए पनि, यसको केन्द्रमा राजनीतिक दर्शन छ। Ronald Beiner र Harrison Fluss को Moses and Political Philosophy र Aaron Wildavsky को Moses as a Political Leader दुबै ग्रन्थले यही विषयमाथी प्रकाश पार्छन्। यी पुस्तकहरूलाई आधार बनाएर ‘नेता कस्तो हुनुपर्छ’ भन्ने प्रश्नलाई आजको राजनीतिक सन्दर्भमा पुनर्विचार गर्नु आवस्यक हुन्छ।
मूसा–कथाको ऐतिहासिक गाम्भीर्य तीन हजार वर्षभन्दा पुरानो स्मृति हुन्। तीनवटा पुस्तकहरू: Exodus, Numbers र Deuteronomy मा नेतृत्व संबन्धीका वर्णनहरू इशापूर्व १२औँदेखि ७औँ शताब्दीबीच क्रमश: लेखिएका मानिन्छन्। कथा धार्मिक शैलीमा संरचित भए पनि यसका अनेक तहहरू ऐतिहासिक, सामाजिक र राजनीतिक यथार्थसँग गाँसिएका छन्। मिस्रमा दासत्व सहनुपरेको एउटा समुदायको पीडा, नेतृत्व खोज्ने संघर्ष, जंगलको कठोर यात्रामा उभिएको साझा नियमको निर्माण; यी सबै अनुभवहरू पछि रूपक, परम्परा र राष्ट्रिय इतिहासको स्वरूपमा रूपान्तरित भए। यसैले, कथा शतप्रतिशत इतिहास होइन; तर शून्य प्रतिशत कल्पना पनि होइन।यसमा दुवै आयाम मिसिएको पाइन्छ।
यही मिश्रणले मूसा पात्रलाई राजनीतिक अध्ययनका लागि उपयुक्त बनाउँछ। Beiner र Fluss का अनुसार, मूसा केवल धार्मिक पूरोहित होइनन्; उनी पहिला राजनीति संस्थापक हुन्। कुनै पनि समुदाय दासत्व, विखण्डन वा दिशाहीनताबाट बाहिर निस्कन चाहन्छ भने, त्यहाँ पहिलो काम नै सामूहिक सम्भावना जगाउने व्यक्तित्वको आवश्यकता हुन्छ। मूसा यही सामुहिक नेतृत्व संस्थापक (institution-founding leader) को आदर्श प्रतिरूप हुन्। उनले मिस्रको दमन विरुद्ध प्रतिरोधको नैतिक आधार निर्माण गरे, मानिसहरूलाई यात्रामा उतारे, डर र अनिश्चिततामा पनि साझा भविष्यको कल्पना देखाए। यसमा भाज्ञ मात्र होइन; दीर्घकालीन संरचना बनाउने विवेक पनि जोडिएको थियो।
Wildavsky ले मूसा–नेतृत्वको अर्को पक्ष देखाउँछन्। उनका अनुसार मूसा यात्राका नेता मात्र होइनन्; उनी कानूनका शिक्षक (teacher of law) पनि हुन्। राष्ट्रको आधार व्यक्तित्वले होइन, नियमले टिक्छ। मूसाले सिनै पर्वतमा निर्माण गरेको भनिएको नियमावली धार्मिक प्रतीकजस्तो लागे पनि, यसको आत्मा राजनीतिक हो। यो नियमले सामूहिक जीवनका आधारहरू निर्धारित गर्छ; समानता, उत्तरदायित्व, न्याय, र सीमित शक्ति जस्ता मूल्य संस्थागत बनाउँछ। Wildavsky का लागि मूसा ति नेता हुन् जसले जनतालाई स्वतन्त्र बनाउने कानुनी चेतना दिन्छन्। यसैले उनी लेख्छन् कि महान नेता जनताको ‘मुक्ति’ मात्र होइन, ‘परिपक्वता’ पनि बिकाश गराउँछन्।
यी दुवै पुस्तकहरू पढ्दा एउटा साझा अन्तदृष्टि स्पष्ट देखिन्छ: नेतृत्व शक्ति प्रदर्शन होइन; सामूहिक जीवनलाई टिकाइरहने संरचना निर्माण गर्ने क्षमता हो। मूसाले चमत्कार गरेका कथाहरू राजनीतिक जादुका लागि होइन; समुदायलाई आफ्नो स्वत्व र उद्देश्य सम्झाउने प्रतीक मात्र हुन्। वास्तविक नेतृत्व त तब देखिन्छ जब नेता अदृश्य संरचना निर्माण गर्छन्। नियम, बान्की, साझेदारी, उत्तरदायित्व आदि। यिनै संरचना हुन् जस्स्ले समाज टिकाईराख्छन्।
आजको सन्दर्भमा हेर्दा यो शिक्षाले गहिरो महत्व राख्छ। हाम्रो राजनीतिमा नेता प्राय: भावनात्मक प्रस्तुति, नाराहरू, र अल्पकालीन आकर्षणका आधारमा मापन गरिन्छन्। चरित्र, अनुशासन, स्पष्ट दृष्टि, र संस्थागत राज्य– निर्माणजस्ता आधारहरू उपेक्षित हुन्छन्। मूसा–कथाबाट सिकाइ हुने कुरा सरल छ: नेता त्यो हो जो जनतालाई यात्रा गराउन मात्र होइन; यात्रा सकेपछि पनि उनीहरू स्वयमं उभिन सक्ने आधार दिन्छ। यात्रा सकेपछि पनि टिकिरहने संरचना बनाउनु नेतृत्वको परिपूर्ण कार्य हो।
मूसा–कथाले अर्को महत्वपूर्ण कुरा सिकाउँछ: नेता सर्वज्ञ होइन। उनी भ्रमित पनि हुन्छन्, क्रोधित पनि हुन्छन्, कहिलेकाहीँ गल्ती पनि गर्छन्। Beiner र Fluss ले यही मानवीय अपूर्णतालाई नेतृत्वको शक्तिका रूपमा देखाउँछन्। नेताले आफूलाई सर्वशक्तिमान होइन, उत्तरदायी मान्छे ठान्न सके; तब मात्रै संस्था सही तवरले चल्छ। जब नेता ‘अहंकेन्द्रित’ होइन ‘नियमकेन्द्रित’ हुन्छ, तब राजनीति दीर्घकालीन हुन्छ। मूसाले प्रतिज्ञा भूमिमा पुग्नुअघि नै आफ्नो उत्तराधिकारीलाई जिम्मेवारी सुम्पेर बाहिर निस्कन्छन्। जसमा, यो कथाले नेतृत्व वा दायित्वको निरन्तरताको सन्देश बोकेको छ।
Wildavsky को विश्लेषणले अर्को तह खोल्छ: नेता ‘बोल्ने’ मात्र होइन ‘सुनाउने’ पनि हुनुपर्छ। मानिसहरू दासत्वबाट बाहिर निस्कँदा उनीहरूमा अविश्वास, अलमल र डर हुन्छ। यी अवस्थाबाट बाहिर निकाल्न नेतृत्वले शिक्षादायक धैर्य अपनाउनुपर्छ। आजको राजनीति पनि यस्तै छ; जनता निराश, भ्रमित, विभाजित वा वचनबाट थाकेका छन् ।यो अवस्थामा नेता आक्रामक होइन; शिक्षादायक, धैर्यशील, र दीर्घदृष्टि भएको हुनुपर्छ।
अन्ततः, यी दुई पुस्तकको संयुक्त अध्ययनले नेतृत्वको स्वरूपलाई अत्यन्त स्पष्ट बनाइदिन्छ। नेता कुनै व्यक्तिगत गन्तव्य होइन; दिशा देखाउने व्यक्ति हो। उनी भाग्य भन्दा बढी नियम र संरचनामा आधारित स्थायित्व सिर्जना गर्ने क्षमता राख्छन्। नेता शक्ति थोपर्ने होइन; जिम्मेवारी बाँड्ने अनुशासन बनाउने पात्र हुन्। समाजलाई केवल मुक्ति दिने होइन, परिपक्वता र आत्मविश्वास थम्याउने कार्य नै नेतृत्वको मूल चिनारी हो। र सबैभन्दा महत्त्वपूर्ण कुरा, नेता पूर्ण हुनैपर्छ भन्ने छैन; तर आफ्नो अपूर्णतालाई स्वीकारेर पनि सामूहिक जीवनलाई अघि बढाउने साहस र धैर्य उनीसँग हुनुपर्छ।
यसैले मूसा–कथा मिथकीय भए पनि त्यसमा समाहित राजनीतिक सत्य गहिरा छन्। हाम्रो समाजले खोजिरहेको परिवर्तन पनि यस्तै दृष्टिबाट मात्र सम्भव हुन्छ। नेतृत्वको शक्ति नारामा होइन, संरचनामा प्रकट हुन्छ। दीर्घकालीन सोच, साझा नियम, र मन जित्ने क्षमता नै राजनीतिक जीवनको वास्तविक आधार हो। शक्ति जितेर होइन; मन जितेर यात्रा सुरु हुन्छ। र मन जित्ने नेतृत्वले मात्र साझा भविष्य निर्माण गर्न सक्छ, जहाँ परिवर्तन टिकाउ र अर्थपूर्ण बन्छ।









