गोरखा, ११ मंसिर । केन्द्रदेखि स्थानीय तहसम्म झण्डै दुईतिहाई बहुमत प्राप्त गरेको नेपाल कम्युनिष्ट पार्टी परित्याग गरी गोरखामा काँग्रेस प्रवेश गर्नेको लर्को लागेको छ ।
गोरखाको अजिरकोट गाउँपालिका–४ सिमजुङ र वालुवाका १०० भन्दा बढी नेकपा कार्यकर्ता बुधबार काँग्रेस प्रवेश गरेका हुन् । काँग्रेस प्रवेश गर्नेमा शहिद परिवारसमेत रहेका छन् ।
नवप्रवेशीलाई काँग्रेस केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे, सोही क्षेत्रका गण्डकी प्रदेशका सांसद प्रकाशचन्द्र दवाडी र गोरखा काँग्रेसका सचिव नन्दप्रसाद न्यौपाने लगायतले माला र टिका लगाएर स्वागत गर्नुभएको छ ।

नेपाली काँग्रेस सिमजुङ गाउँ समितिको आयोजनामा भएको सोही कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य पाण्डेले वर्तमान सरकारले जनताको इच्छा र आकांक्षालाई पुरा गर्न नसकेकाले सरकारप्रति जनतामा निराश छाएर विकल्प रोजेको बताउनुभयो ।
कोरोनाको महामारीका बीच जनताको भावना बुझ्दै गाउँगाउँ पुगेका सांसद दवाडीले गोरखाको विकासको लागि जनताले काँग्रेस रोजेको बताउनुभयो । सांसद दवाडीले यसअघि कात्तिकमा बारपाक–सुलिकोट वडा नं २ को मान्द्रे, दुम्सी, पोखरी, स्नान, अलगाउँ, थलिडाँडालगायतका १६० युवा काँग्रेस प्रवेश गराउनुभएको थियो ।








