पालुङटार (गोरखा):आगामी स्थानीय तहको निर्वाचनका लागि गोरखाको पालुङटार नगरपालिकाको नगर प्रमुख (मेयर) पदमा चर्चित सामाजिक तथा राजनीतिक व्यक्तित्व प्रेमबहादुर गुरुङले आफ्नो सशक्त दाबेदारी प्रस्तुत गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ‘क्यान्डिडेट क्लब’ मार्फत गुरुङले नगर प्रमुख पदका लागि आफ्नो उम्मेदवारीको दाबी अघि बढाउनुभएको हो।
नेपाल सरकारको अधिकृत तहको स्थायी, सुरक्षित र सम्मानित जागिरलाई बिचमै त्यागेर राजनीति र जनसेवामा होमिनुभएका गुरुङ पालुङटारका अति नै लोकप्रिय र विश्वासिला पात्र मानिनुहुन्छ। विगत २५ वर्षदेखि निरन्तर पालुङटारको सामाजिक रूपान्तरण, विकास निर्माण र जनताको सुख-दुःखमा समर्पित उहाँको उम्मेदवारीलाई स्थानीयवासीले निकै उत्साहका साथ हेरेका छन्।
अनुभव, सुशासन र कुशल नेतृत्वको भरोसा
दर्जनौँ सामाजिक, शैक्षिक तथा विकासप्रेमी संघ-संस्थाहरूको सफल र कुशल नेतृत्व सम्हालिसक्नुभएका गुरुङसँग प्रशासनिक दक्षता र सांगठनिक अनुभवको बलियो संगम छ। उहाँले नेतृत्व गरेका हरेक क्षेत्रमा पारदर्शिता, उत्तरदायित्व र नतिजामुखी कामको छाप छाड्न सफल हुनुभएको छ।
पालुङटारको विकासका लागि स्पष्ट दृष्टिकोण (भिजन) र योजना बोक्नुभएका गुरुङले भन्नुभयो, “पालुङटारलाई समृद्ध, सुशासित र उत्तरदायी नगर बनाउने मेरो मुख्य लक्ष्य हो। अधिकृत तहमा रहेर काम गर्दाको प्रशासनिक अनुभव र २५ वर्षदेखिको ग्राउन्ड लेभलको सामाजिक यात्रालाई जोडेर म पालुङटारका हरेक नागरिकको सेवामा समर्पित हुन चाहन्छु।”
स्थानीय तहमा निष्कलङ्क, परिपक्व र अनुभवी नेतृत्वको खोजी भइरहेका बेला अधिकृत तहको प्रशासनिक क्षमता र अढाई दशकको निष्ठावान् जनसेवाको पृष्ठभूमि बोक्नुभएका प्रेमबहादुर गुरुङको नगर प्रमुखमा दाबेदारीले पालुङटारको राजनीतिमा नयाँ तरंग ल्याएको छ।



