सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि विद्यालय समायोजन (मर्ज) लाई यहाँका एक स्थानीय तहले अघि बढाएको छ । विद्यार्थी कम र शिक्षक धेरै भएपछि दोर्दी गाउँपालिकाले वडा नं. १ भारतेका महादेव निम्न माध्यमिक विद्यालय र कर्मोदय प्राथमिक विद्यालय मर्ज गरेको हो ।
सोमबार गाउँपालिका अध्यक्ष युवराज अधिकारीको अध्यक्षतामा बसेको दोर्दी शिक्षा समितिको बैठकले उक्त निर्णय गरेको हो । शिक्षा शाखा प्रमुख भिमप्रसाद लामिछानेका अनुसार महादेव विद्यालयलाई सूर्योदय माध्यमिक विद्यालयमा मर्ज गर्ने र कर्मोदय विद्यालयलाई रत्न प्राथमिक विद्यालयमा मर्ज गर्ने र यस विद्यालयको बालविकासलाई भने यथावत् राख्ने निर्णय भएको छ । त्यस्तै, समायोजन भएका विद्यालयका शिक्षकहरुलाई पालिकाको विभिन्न विद्यालयमा पठाउने निर्णय भएको उहाँको भनाई छ ।
गत वर्षको सिमा क्षेत्र (क्राईट एरिया) अनुसार एकदेखि पाँच कक्षा भएको विद्यालयमा २० जनासम्म विद्यार्थी भएकोमा दुई वटा दरबन्दी र एउटा बालविकास दिने थियो । तर अहिले भारतेमा रहेका कुनै पनि विद्यालयमा उक्त अनुसार विद्यार्थीको संख्या भएन, सबैमा ७÷८ जनाको संख्या विद्यार्थी भएका कारण र विद्यार्थीलाई पाएक पर्ने, शिक्षकलाई अन्य विद्यार्थी भएको विद्यालयमा समायोजन गर्ने गरी मर्ज गरेको शिक्षा प्रमुख लामिछानेको भनाई छ । महादेवमा रहेका पाँच दरबन्दीका शिक्षकमध्ये तीन जना प्रावि र दुई निमाबी दरबन्दी रहेकोमा अन्य विद्यालयमा समायोजन र कर्मोदयका दुई जना शिक्षकहरुलाई समायोजन भएको विद्यालय र अन्य विद्यालयमा व्यवस्थापन गरिएको बताइएको छ ।
शिक्षा मन्त्रालयले २०७० सालमा विद्यालय समायोजनका लागि निर्देशिका तयार पारेको थियो । सोहीअनुसार स्थानीय तहमा विद्यालय गाभ्ने अभियान अघि बढ्न थालेको छ । पालिकाको अन्य वडाहरुमा रहेको विद्यालयहरुको अनुगमन गर्ने र विद्यालय समायोजन गर्नुपर्ने विद्यालयहरु समायोजन गर्ने शिक्षा प्रमुख लामिछानेले बताउनुभयो । पालिकाभरी ५१ वटा विद्यालयहरु रहेका छन् ।








