काठमाडौँ, १५ साउन । राष्ट्रिय व्यापार संघका महासचिव बैकुण्ठ दाहालले लकडाउनका कारण मारमा परेका व्यवसायीको आवाज सरकारले बेलैमा सोच्नुपर्ने बताउनुभएको छ ।
महासचिव दाहालले फेसबुकमार्फत एक विज्ञप्ती जारी गर्दै लकडाउनका कारण व्यवसायीहरु नेपालको व्यापार व्यवसाय क्षेत्रमा ठूलो समस्या परेको भन्दै समस्या समधानका लागि सरकार गम्भीर हुनुपर्ने बताउनुभएको ।
“बैँक तथा वित्तिय संस्थाबाट चर्को ब्याजमा लिएको ऋण र घरभाडाका कारण कयौँ व्यवसायीहरु व्यवसाय छोड्न बाध्य हुनुपरेको छ, नेपालको व्यवसाय जोगाउन सरकारले बैलैमा सोचोस्,”–उहाँले भन्नुभयो ।
महासचिव दाहालले कोभिड–१९ को सङ्क्रमण बढ्दै जाँदा व्यवसायले कहिले गति लिने हो अन्योल रहेकाले सरकारले व्यवसायीलाई विशेष राहतको प्याकेज ल्याउनुपर्ने उल्लेख गर्नुभयो ।
देशभर लामो समय लकडाउन हुँदा व्यवसायीसँग भएको पैसा सकिएपछि सरकारलाई दवाव दिएर व्यापार व्यवसाय सञ्चालन गर्न आग्रह गरिएपनि सरकारले निजी क्षेत्रको साथ लिन नसकेको उहाँको भनाई छ ।
कोरोनाको सङ्क्रमणका बीचमा सरकारका मन्त्री र कर्मचारी कमाउ धन्दामा लागेपनि सोझा जनताले दुःख पाएको महासचिव दाहालले बताउनुभयो ।
सरकारले व्यवसायीको समस्या बेलैमा सोचोस् ः महासचिव दाहाल








