पालुङटार, गोरखा । आत्महत्या रोकथामसम्बन्धी सरोकारवालाहरूबीच गम्भीर बहस तथा सचेतना अभिवृद्धि गर्न पालुङटार नगरपालिका वडा नं ४ को सभाहलमा आज एकदिने अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
२०८२ साल असार ४ गते सम्पन्न उक्त कार्यक्रम आत्महत्या रोकथाम समितिका अध्यक्ष कृष्णप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथिका रूपमा पालुङटार नगरपालिकाकी उपप्रमुख बन्दना पाण्डेको उपस्थिति रहेको थियो।
कार्यक्रममा विशेष अतिथिका रूपमा वडा नं ४ का वडा अध्यक्ष मानबहादुर पौडेल, कार्यपालिका सदस्यहरू, महिला स्वास्थ्य स्वयंसेविका, विभिन्न संघ–संस्थाका प्रतिनिधि, शिक्षक, विद्यार्थी तथा मानसिक स्वास्थ्य क्षेत्रमा संलग्न व्यक्तिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाण्डेले मानसिक स्वास्थ्यलाई गम्भीर रूपमा लिँदै पालुङटार नगरपालिकाले यससम्बन्धी विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताउनुभयो। उहाँले विद्यालयस्तरसम्म मानसिक स्वास्थ्य प्रवर्द्धन कार्यक्रम विस्तार गरिएको उल्लेख गर्दै समस्या भएका व्यक्तिको पहिचान, तालिम र पुनःस्थापनाको काम नगरपालिकाबाट भइरहेको जानकारी दिनुभयो। हाल पालुङटार नगरपालिकाले आँपपिपल अस्पतालमा मानसिक स्वास्थ्य विशेषज्ञ नियुक्त गर्न पहल गरिरहेको पनि उहाँले जानकारी दिनुभयो।

त्यसैगरी, विशेष अतिथि वडा अध्यक्ष पौडेलले वडा नं ४ मा रहेका १६ जना मानसिक स्वास्थ्य समस्याबाट पीडित व्यक्तिलाई निःशुल्क बीमा गरी औषधोपचारको व्यवस्था गरिएको बताउनुभयो।
उक्त कार्यक्रम कोसिस नेपालको सहकार्यमा, Australian Aid, CBM Global Disability Inclusion, र पालुङटार नगरपालिकाको संयोजनमा आयोजना गरिएको हो।

कार्यक्रममा कोसिस नेपालका कर्मचारी विपिन घिमिरेले सहभागीलार्इ आत्महत्या रोकथाम तथा मानसिक स्वास्थ्यका विषयमा प्रशिक्षण दिनुभएको थियो। कोसिस नेपालले विगत केही वर्षदेखि पालुङटार क्षेत्रमा मानसिक स्वास्थ्य तथा आत्महत्या रोकथामसम्बन्धी कार्य गर्दै आइरहेको छ। कार्यक्रममा कोसिस नेपालले शोषण, हिंसा, दुर्व्यवहार तथा भ्रष्टाचारप्रति शून्य सहनशीलता नीतिको अभ्यास गरिरहेको पनि उल्लेख गरिएको थियो।








