गोरखाको चुमनुव्री गाउँपालिकामा महिलामाथि बढ्दो यौन तथा घरेलु हिंसा, बलात्कार र हत्या जस्ता गम्भीर सामाजिक समस्याहरूको न्यूनिकरण गर्ने उद्देश्यले किसोरीहरूलाई लक्षित गर्दै आत्मरक्षा तालिम सम्पन्न गरिएको छ ।
चुमनुव्री गाउँपालिकाको आर्थिक सहयोग र महिला अधिकार सरोकार केन्द्र, गोरखाको प्राविधिक साझेदारीमा आयोजना गरिएको तीनदिने उक्त तालिम २०८२ जेठ १८ गतेदेखि २० गतेसम्म बुद्ध माध्यमिक विद्यालय, फिलिममा सञ्चालन गरिएको हो। तालिमको उद्घाटन चुमनुव्री गाउँपालिकाकी उपप्रमुख लक्ष्मी गुरुङले गर्नुभएको थियो ।
उपप्रमुख गुरुङले किसोरीहरूमाथि हुने हिंसात्मक घटनाहरू रोकथामका लागि यस्ता तालिमहरू समयानुकूल, प्रभावकारी र अत्यावश्यक रहेको बताउँदै भविष्यमा पनि यस्ता कार्यक्रमहरूलाई प्राथमिकता दिइने जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले सामाजिक सञ्जालको असुरक्षित प्रयोगले निम्त्याउन सक्ने सम्भावित हिंसा र समस्याहरूबाट जोगिनका लागि सचेतना र आत्मरक्षा तालिम अपरिहार्य रहेको उल्लेख गर्नुभयो ।
संस्थाका कार्यकारी निर्देशक निर्माण घिमिरेले कार्यक्रमको उद्देश्य, प्रभाव र कार्यान्वयनका पक्षमा प्रकाश पार्दै किशोरीहरूको आत्मविश्वास, भौतिक सुरक्षा र मानसिक दृढता अभिवृद्धि गर्नु नै तालिमको मुख्य उद्देश्य रहेको जानकारी दिनुभयो ।
बुद्ध माध्यमिक विद्यालयमा कक्षा ८ देखि १० सम्म अध्ययनरत ६० जना किशोरीले तालिममा सहभागीता जनाएका थिए। तालिमका प्रशिक्षक विक्रम घले र सदिक्षा देवकोटाले सहभागीहरूलाई आत्मरक्षासम्बन्धी व्यवहारिक अभ्यास र ज्ञान प्रदान गरेका थिए ।

यसै कार्यक्रमअन्तर्गत चुमनुव्री गाउँपालिकाको ल्हो माध्यमिक विद्यालयमा पनि ३० जना किशोरीहरूलाई आत्मरक्षा तालिम प्रदान गरिने संस्थाका प्रतिनिधि केदार पोखरेलले जानकारी दिनुभयो ।
यस कार्यक्रमले स्थानीय समुदायमा किशोरीहरूलाई सुरक्षित, सचेत र सक्षम बनाउने दिशातर्फ सकारात्मक प्रभाव पार्ने विश्वास आयोजकहरूले व्यक्त गरेका छन् ।








