काठमाडौँ । गोँगबुका एकसय पचास महिलाको निःशुल्क पाठेघर जाँच गरिएको छ ।
समाज उत्थान महिला मञ्चले ग्रीनसिटी अस्पताल बसुन्धरा र रोटरी क्लब अफ काठमाडौँ डाउनटाउनको सहयोगमा शनिबार आयोजना गरेको स्वास्थ्य शिविरमा एकसय पचास महिलाले पाठेघरको निःशुल्क स्वास्थ्य जाँच गराउनुभएको हो ।
कार्यक्रममा काठमाडौँ महानगरपालिका वडा नं २६ का वडाअध्यक्ष ख्यामराज तिवारीले महिलाहरुलाई स्वस्थ राख्नका लागि यस्ता किसिमका स्वास्थ्य शिविरले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा पनि वडाभित्र यस्ता शिविर सञ्चालन गरिने बताउनुभयो ।
ग्रीनसिटी अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनले अस्पतालले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विभिन्न क्षेत्रमा विभिन्न रोगको उपचारका लागि निःशुल्क स्वास्थ्यसेवा प्रदान गर्दै आइरहेको बताउनुभयो ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले महिलाको हक, अधिकार र स्वास्थ्यको क्षेत्रमा मसहला उत्थान महिला मञ्चले सराहनीय कार्य गर्दै आइरहेको बताउनुभयो ।
एकदिने स्वास्थ्य शिविरमा महिलाहरुमा पाठेघर खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने समस्या, सेतो पानी बग्ने समस्यालगायतको बारेमा जाँच गरिएको संस्थाकी उपाध्यक्ष जानुका ढकालले जानकारी दिनुभयो ।
विस २०७१ सालमा स्थापना भएको उक्त मञ्चले गोँगबु क्षेत्रमा विभिन्न सामाजिक काम सञ्चालन गर्दै आइरहेको उपाध्यक्ष तारा नेपालले बताउनुभयो । उक्त संस्थाले विभिन्न समयमा गोँगबु क्षेत्रमा सामाजिक कामसमेत गर्दै आइरहेको छ ।








