बैशाख ३० गते हुने स्थानीय तह चुनावमा नेकपा एमाले गण्डकी प्रदेश कमिटीले लमजुङको क्व्होलासोंथर गाउँपालिका अध्यक्षको उम्मेदवारमा सूर्यप्रसाद गुरुङको नाम टुंगो लगाएको छ ।
नेकपा एमाले गण्डकी प्रदेशको सचिवालय बैठकले पालिका र जिल्लाबाट सिफारिस गुरुङको नाम अध्यक्षको उम्मेदवारमा टुंगो लगाएको हो । गण्डकी प्रदेशभर ११ जिल्लाको २९ वटा पालिकाका प्रमुखको नाम टुंगो लगाउने क्रममा प्रदेश कमिटीले क्व्होलासोंथरमा अध्यक्षका उम्मेदवारको नाम टुंगो लगाएको नेकपा एमाले गण्डकी प्रदेश कमिटी सचिव धनञ्जय दवाडीले बताउनुभयो ।
क्व्होलासोंथर गाउँपालिका ५, पसगाउँ घर भएका उहाँ नेकपा एमाले जिल्ला कमिटी सदस्य हुनुहुन्छ । एमाले क्व्होलासोंथर गाउँ कमिटी सविच र त्यसपछि उपाध्यक्ष समेत बन्नुभएका उहाँ क्व्होलासोंथर गाउँपालिका वडा नं. ६ र ७ को इन्चार्जसमेत हुनुहुन्छ । उहाँले गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रमुख स्वकीय सचिवको जिम्मेवारी पनि निर्वाह गरिसक्नुभएको छ ।
व्यवस्थापनमा स्नातकोत्तर गर्नुभएका गुरुङले वान इयर बिएड समेत गर्नुभएको छ । बैंकिङ करियरमा अनुभव बटुलेका उहाँ सामाजिक क्षेत्र हुँदै राजनीतिक क्षेत्रमा होमिनुभएको हो ।
एमाले क्व्होलासोंथर अध्यक्षका उम्मेदवारमा सूर्यप्रसाद गुरुङ









