गोरखा । जेसीआई गोरखाले आफ्नो ४५औँ पदस्थापना तथा नेतृत्व हस्तान्तरण समारोह गोरखा गार्डेन होटल प्रा.लि.मा एक भव्य कार्यक्रमका बीच सम्पन्न गरेको छ। सो समारोहमा सन् २०२५ का अध्यक्ष जेसी सुमन गुरुङले सन् २०२६ का लागि नवनिर्वाचित अध्यक्ष जेसी सुजित श्रेष्ठलाई औपचारिक रूपमा नेतृत्व र जिम्मेवारी हस्तान्तरण गर्नुभयो।
कार्यक्रमका प्रमुख अतिथि गोरखा नगरपालिकाका नगरप्रमुख श्री कृष्णबहादुर राना मगरले युवाहरूको नेतृत्व विकास र सामुदायिक सेवामा जेसीआई गोरखाले निर्वाह गरेको भूमिकाको उच्च प्रशंसा गर्नुभयो। आगामी दिनमा पनि नगरपालिकाले जेसीआईसँगको सहकार्य र समन्वयलाई निरन्तरता दिने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो। त्यस्तै, विशेष अतिथि एवं जेसीआई नेपाल क्षेत्र “B” का कार्यकारी उपाध्यक्ष जेसी आरोग्य श्रेष्ठले संगठनलाई थप प्रभावकारी बनाउन नेतृत्वको सक्रियता आवश्यक रहेकोमा जोड दिनुभयो।
निवर्तमान अध्यक्ष जेसी सुमन गुरुङले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने दाता, साझेदार र सदस्यहरूप्रति आभार प्रकट गर्नुभयो। जिम्मेवारी सम्हालेलगत्तै नवनियुक्त अध्यक्ष सुजित श्रेष्ठले सन् २०२६ का लागि २७ सदस्यीय नयाँ कार्यसमिति घोषणा गर्नुभएको छ। नयाँ कार्यसमितिमा जेसी दिनेश दानीलाई जनरल लिगल काउन्सिलर, जेसी बुद्धि जोगीलाई महासचिव र जेसी बिपिन पोखरेललाई कोषाध्यक्षको जिम्मेवारी दिइएको छ।
समारोहमा विभिन्न शाखाका जेसीआई पदाधिकारीहरू र स्थानीय समाजसेवीहरूले युवा सशक्तीकरण र संस्थागत विकासबारे मन्तव्य राखेका थिए। अध्यक्ष श्रेष्ठको निर्देशनमा समापन भएको उक्त कार्यक्रमको अन्त्यमा कोषाध्यक्ष बिपिन पोखरेलले उपस्थित सबैमा धन्यवाद ज्ञापन गर्नुभएको थियो।








