पहाडी जिल्ला लमजुङस्थित दोर्दी गाउँपालिकाका नौ वटै वडामा आजदेखि राष्ट्रिय परिचयपत्र विवरण संकलन सुरु भएको छ । सबै नागरिक समेट्ने गरी दोर्दीमा वडास्तरीय घुम्ती शिविर संचालन गरी राष्ट्रिय परिचयपत्र विवरण संकलन सुरु गरेको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी सुशिल वैद्यले भन्नुभयो, राष्ट्रिय परिचय पत्र बनाउन नागरिकलाई सहज होस् भन्ने लक्ष्यका साथ वडा वडामै पुगेर बनाउन सुरु गरेका छौँ । क्रमश अन्य पालिकाको वडा वडाबाट पनि सो परिचय पत्र बनाउने र आगामी तिन महिनाभित्रमा जिल्लाका ७५ वटै वडामा घुम्ती शिविर संचालन गरी सबैको सो परिचय पत्र बनाइसक्ने लक्ष्य रहेको उहाँको भनाई छ । यसअघि जिल्ला प्रशासन कार्यालयबाट मात्रै सो विवरण संकलन हुँदै आएको थियो । विवरण संकलनका लागि नेपाली नागरिकता अनिवार्य छ तर सोको विकल्पमा राहदानी वा शैक्षिक प्रमाणपत्र पेस गर्नेको पनि परिचय पत्र संकलन गर्ने गरेको प्रशासन कार्यालयले जनाएको छ । हाल जिल्ला प्रशासनमा विवरण संकलन गर्दा तत्कालै परिचयपत्र नम्बर उपलब्ध हुने भए पनि अभियानका क्रममा भने विवरण प्रविष्ट गरेको १५ दिनपछि मात्रै नम्बर उपलब्ध हुने बताइएको । राष्ट्रिय परिचयपत्र नम्बर तत्कालै आवश्यक परेका नागरिकलाई भने जिल्ला प्रशासन कार्यालयमै आएर विवरण भर्नुपर्ने प्रमुख जिल्ला अधिकारी वैद्यको भनाई छ पञ्जीकरण विभागबाट आएका कर्मचारीहरुले सो सेवा दिइरहेका छन् ।
दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले यसरी पालिकाको वडा वडाबाटै राष्ट्रिय परिचय पत्र विवरण संकलन भएसँगै नागरिकलाई सहज भएको बताउनु भएको छ । प्रशासन कार्यालयमै पुग्नुपर्ने, त्यहाँ भीडभाड हुँदा समय लाग्ने तथा झन्जटिलो हुने गरेपनि अहिले भने आ आफ्नै वडामा सो सुविधा उपलब्ध भएकाले उमेर पुगेका सबै नागरिकले सो परिचय पत्र बनाउनका लागि उहाँले आग्रह गर्नुभयो । शिविरको पहिलो दिन आज २०० जनाले राष्ट्रिय परिचय पत्र बनाएको बताइएको छ ।
१६ वर्ष उमेर पुगेका सबै नेपालीलाई राष्ट्रिय परिचय-पत्र बनाउन पाउने छन् । राष्ट्रिय परिचय-पत्र वितरणसंगै पञ्जीकरण विभागसँग समन्वय गरेर जन्मदर्तासँगै राष्ट्रिय परिचय-पत्र वितरण गर्ने नीति केन्द्रको छ । नेपाली नागरिकताको प्रमाण-पत्रको कमि कमजोरीलाई समेत यो परिचय-पत्रले हटाउने र नेपाली नागरिकताको प्रमाणपत्र लिइसकेका सबै नेपाली वा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्ने मापदण्ड पुगेका सबैले यो राष्ट्रिय परिचय-पत्र सजिलै प्राप्त गर्न सक्ने प्रावधान रहेको छ । चिप्स र युनिक कोडसहितको यो परिचय-पत्रमा सम्बन्धित व्यक्तिको हातका दशवटै आँैलाको प्रिन्ट, अनुहार तथा आँखाको माइक्रो स्केन जडित हुने भएकाले कुनै पनि व्यक्तिको आधिकारिक पहिचान खुलाउन यो परिचय-पत्र अहिलेसम्मकै सबभन्दा भरपर्दो साधन सावित हुने बताइएको छ ।
परिचय-पत्रमा हरेक नागरिकलाई नदोहरिने कोड नम्बर प्रदान हुने तथा परिचय-पत्रमा हुने व्यक्तिगत विवरण अन्तराष्ट्रिय मापदण्ड अनुसार सुरक्षित राखिने विभागले जनाएको छ । त्यसैगरी, यो परिचय-पत्रले व्यक्तिको राहदानी, जमीनको स्वामित्व, करदाता सूचना, आर्थिक कारोबारका विवरणलाई समेत प्रमाणित गर्ने बताइएको छ । यो परिचय-पत्रले मुलुकको सुरक्षा व्यवस्थालाई व्यवस्थित गर्न सहयोग पुग्नुका साथै नेपाली, गैर आवासीय नेपाली तथा विदेशीको तथ्याङ्कलाई समेत एकिन गर्न सहयोग पुग्ने भएको छ ।








