पहाडी जिल्ला लमजुङको दोर्दी गाउँपालिकाम ादोस्रो गाउँसभाको दोस्रो हिउँदे अधिवेशन सुरु भएको छ । पालिकाको वडा .नं. ४ नौथर सेरास्थित गाउँपालिकाको सभाहलमा गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीको अध्यक्षतामा गाउँपालिकाको अधिवेशन सुरु भएको हो ।

गाउँपालिका अध्यक्ष अधिकारीले गत आर्थिक वर्षको प्रगति विवरण ,यस आर्थिक वर्षको प्रगति विवरण साथै हाल सम्म भएका प्रगति ,पारित भएका कार्यविधि सभामा प्रस्तुत गर्नुभएको थियो । चालु आर्थिक वर्षमा ३५ लाख आन्तरिक राजस्व संकलन गर्ने अनुमान गरेकोमा हालसम्म १७ लाख २५ हजार ५ सय ६१ रुपैयाँ ८० पैसा राजस्व संकलन भएको उहाँको भनाई रहेको छ । त्यस्तै, चालु आर्थिक वर्षमा हालसम्म पाँच पटक कार्यपालिका बैठक बसेको र ६७ वटा विभिन्न निर्णय गरिएको समेत अध्यक्ष अधिकारीले बताउनुभयो । चालु आर्थिक वर्षमा निर्माण गरिएका १ सय ६३ योजनामध्ये हालसम्म ८४ योजना संझौता भएको अध्यक्ष अधिकारीले जनाउनु भएको छ ।

त्यस्तै कार्यक्रममा उपाध्यक्ष विच्छबहादुर घलेले बजेट प्रस्तुत गर्नुभएको थियो । उपाध्यक्ष घलेले विभिन्न शिर्षक गरी १ करोड ९६ लाख ५० हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गर्नुभयो । संस्था तथा सहकारी दर्ता ऐन, खानेपानी तथा सरसफाई स्वच्छता ऐन, बालबालिका तथा समावेशी शिक्षा संञ्चालन सम्बन्धि ऐन, सूचना प्रविधि ल्याव स्थापना सम्बन्धि कार्यविधि, कृषि क्षेत्र परियोजना कार्यविधि, विद्यालय समिति गठन सम्बन्धि ऐन लगायतका आठ वटा ऐन कानुन कार्यविधि प्रश्तावित गरिएको र आगामी हुने गाउँ सभामा छलफल पछि पारित गरिने भएको गाउँपालिकाले जनाएको छ ।
सभा मार्फत पारित भएको कार्यविधि राजपत्रमा प्रकाशन गरेर तत्काल कार्यन्वयन गरिने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शम्शेर गुरुङले बताउनुभयो । समयमै योजनाहरु संचालन र सम्पन्न गर्न सबै एकजुट भएर लाग्नुपर्नेमा सहभागिहरुले जोड दिएका थिए । कार्यक्रम सञ्चालन पालिकाको सूचना अधिकारी भिमप्रसाद लामिछानेले गर्नुभएको थियो ।








