दोर्दी गाउँपालिकाद्धारा यहाँका ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । पालिकाको महिला विकास शाखाको आयोजनामा वडा नं. ४ नौथर सेरामा आज एक कार्यक्रमका बीच ९÷९ जना महिला, पुरुष गरी १८ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो ।
ज्येष्ठ नागरिकलाई एक–एक वटा कम्बल र हर्लिस दिनुका साथै खादा ओडाएर सम्मान गरेको हो । उनीहरुलाई गाउँपालिका उपाध्यक्ष विच्छबहादुर घले, पालिकाको सामाजिक विकास संयोजक अम्बिका मरहट्टा, पालिकाको शिक्षा शाखा प्रमुख भिमप्रसाद लामिछाने लगायतले सो सामग्री वितरण गर्दै खादा ओडाएर सम्मान गरेका थिए । ज्येष्ठ नागरिकलाई सम्मान गर्दै गाउँपालिका उपाध्यक्ष घलेले आगामी दिनमा ज्येष्ठ नागरिकलाई अझै प्रभावकारी हुने कार्यक्रम तथा सहयोग ल्याउने बताउनुभयो ।
समाजमा ज्येष्ठ नागरिकको ठूलो योगदान रहेको र सबैले ज्येष्ठ नागरिकको कदर, सम्मान गर्नुपर्नेमा उहाँले जोद दिनुभयो । ७० वर्ष उमेर पुगेका एकल महिला तथा पुरुष, अत्ति गरिबी, बिपन्न भएका आधारमा यतिका ज्येष्ठ नागरिकलाई सम्मान गरिएको पालिकाको सो शाखाका प्रमुख सुजन सुनारले बताउनुभयो ।

उहाँका अनुसार प्रत्येक वडाबाट एक ÷एक महिला, पुरुष गरी एक वडाबाट २ जना ज्येष्ठ नागरिक सम्मानित भएका हुन् । उनीहरुलाई यातायात खर्च स्वरुप प्रति ब्यक्ति ५०० रुपैयाँ समेत वितरण गरेको बताइएको छ । पालिकामा धेरै ज्येष्ठ नागरिक भएतापनि बजेट अभावले यतिका संख्याका ज्येष्ठ नागरिकलाई सम्मान गरेको गाउँपालिकाले जनाएको छ । पालिकाका अनुसार एक लाख बजेटबाट यस कार्यक्रम गरेको छ । वितरण गरिएको सो प्रति कब्बल ४ हजार, हर्लिस १ हजार २०० रुपैयाँ र यातायात खर्च स्वरुप ५०० रुपैयाँ ज्येष्ठ नागरिकलाई उपलब्ध भएको छ ।
सम्मानित भएका ज्येष्ठ नागरिकमध्ये कृष्णप्रसाद दवाडीले पालिकाले गरेको सम्मानले ज्येष्ठ नागरिकलाई राज्य ज्येष्ठ नागरिकको लागि पनि रहेछ भन्ने भएको बताउनुभयो । जाडोको समयमा पालिकाबाट प्राप्त कम्बल ओड्न पाएको र सम्मानित भएको भन्दै उनीहरु हर्षित भएका थिए ।








