नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलिले देश र जनताको पक्षमा काम गर्दा आफ्नो सरकार ढलेको बताउनु भएको छ । एमालेले शुरु गरेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा–२०८०’ अभियानअन्तर्गत हिजो (शुक्रवार) पालुङटारको ठाँटिपोखरी समि चौतारामा आयोजित जन सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले एमाले नेतृत्वको सरकारले स्वदेशमै युवा र विद्यार्थीलाई रोक्ने वातावरण बनाएको भए पनि वर्तमान गठबन्धनको सरकारले युवा विद्यार्थीलाई विदेशिन बाध्य पारेको आरोप लगाउनुभयो । अहिलेको सरकार रहेसम्म विदेश जाने युवा विद्यार्थी नरोकिने उहाँको भनाइ छ ।
ओलीले आफू नेतृत्वको एमाले सरकारले भारतले नाकाबन्दी लगाएको समयमा चीनसँग पारवहन सन्धि सम्झौता गरेर नेपाललाई समुद्रसँग जोड्ने अवस्था सिर्जना भएको बताउनुभयो । उहाँले हिमाली जिल्ला मुस्ताङमा युरेनियम रहेको पत्ता लगाएर अहिले त्यसको सुरक्षाका लागि नेपाली सेनालाई जिम्मा लगाइएको बताउँदै एमालेको नेतृत्वमा सरकार बनेमा नेपालमा रहेका प्राकृतिक स्रोत र साधनको उत्खनन तथा परिचालन गरेर देश निर्माण गर्ने दाबी गर्नुभयाे । देशभित्र रहेका खनिज पदार्थको उत्खनन गरी युवालाई रोजगारको सिर्जना गरिने उहाँले बताउनुभयो ।
एमाले नेतृत्वको सरकारले पूर्व–पश्चिम राजमार्गको स्तरोन्नति, मध्यपहाडी पुष्पलाल लोकमार्गको द्रुत विकास, हुलाकी राजमार्ग र मदन भण्डारी राजमार्गलगायत थुप्रै सडकको निर्माण अगाडि बढाएको अध्यक्ष ओलीले बताउनुभयो । उहाँले एमालेको सरकार रहँदा आफैँले शिलान्यास गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न भई अहिले सञ्चालनमा आए पनि वर्तमान सरकारले विदेशी पर्यटक आउनका लागि स्वीकृति दिन नसकेको आरोपसमेत लगाउनुभयो ।
अध्यक्ष ओलीले एमालेको सरकारले नेपालमा थुप्रै विकास निर्माणका काम गरेको भन्दै नेपालको कुनै पनि भू–भाग अब दुर्गम नरहेको जिकिर गर्नुभयाे । उहाँले अब देशको विकास गर्नका लागि पनि नेकपा एमाले नै चाहिने भएकाले ‘मिसन ०८४’ को अभियान लिएर अहिले देश दौडाहामा रहेको उल्लेख गर्नुभयाे । ठाँटिपोखरिको सशा स्थलमा पार्टीका पुराना सदस्यहरुलाइ ओलिलि दोसल्ला ओडाएर सम्मान गर्नु भएको थियोे ।




