मंसिर 9गोरखा÷पालुङटार नगरपालिका वडा नं. ४ ले लैंगिक हिंसा न्युनिकरण सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान अर्थात् नोभम्बर २५ तारिख(महिला हिंसा बिरुद्धको अभियान दिवस) को अवसर पारेर बेलटारमा लैंगिक हिंसा न्युनिकरण सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो ।
पालुङटार नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष मान बहादुर पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष पौडेलले वडा नं. ४ भित्र सञ्चालन गरिएको यो अभियानले लैंगिक हिंसा रहित समतामुलक समाज निर्माण गर्न कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो । सोहि अवसरमा उहाँले नेपालको राजनीतिक संरचनामा महिलाहरुको उपस्थिति विश्वकै बिकसित मुलुकहरुका लागि समेत पे्ररणादायी रहेको बताउनुभएको छ । अध्यक्ष पौडेलले मुलुकका बिभिन्न विधा र फाँटहरुमा महिलाको सफल नेतृत्व रहेको भन्दै ‘हिंसा’ महिलाको मात्र नभई हरेक व्यक्ति, परिवार, समाज र राष्ट्रको समस्या भएको बताउनुभएको छ । सोहि अवसरमा उहाँले लैंगिक हिंसा अन्त्य गर्न अभियानमा सरिक हुनुहुने सम्पूर्ण राजनीतिकर्मी, सुरक्षाकर्मी, नागरिक समाज, बिभिन्न संघ संस्थाहरुलाई धन्यबाद दिँदै लैंगिक हिंसा बिरुद्धको अभियानमा संवेदनसिल भएर लाग्न अनुरोध गर्नुभएको छ ।
ईलाका प्रहरी कार्यालय ठाँटीपोखरीको समन्वयमा सम्पन्न भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी निरिक्षक सुरेन्द्र तामाङले इज्जत जोगाउने नाममा घर–घरमा समस्या लुकाएर राख्ने गरिएको बताउनुभएको छ । हिंसामा परेका महिलाहरुले इज्जत जोगाउने नाममा समस्या लुकाएर राख्दा त्यसले ठूलो दुर्घटना निम्त्याउन सक्छ उहाँले भन्नुभयो ।’ निरिक्षक तामाङले जस्तोसुकै समस्यामा परेका नागरिकहरुको उद्धार गर्न प्रहरी तयार रहेको भन्दै घटना हुने बित्तिकै प्रहरीलाई खबर गर्न ढिला गर्न नहुने बताउनुभएको छ ।
कार्यक्रममा कोशिश नेपालका फोकल पर्सन बिपिन घिमिरेले लैंगिक हिंसाका कारण अधिकांश मानिसहरु मानसिक रोगको सिकार हुनपुगेको बताउनुभएको छ । सोहिअवरमा उहाँले मानसिक रोगका बिरामीहरुलाई समाजले फरक आँखाले हेर्न नहुने भन्दै उपचार पछि सानसिक रोग निको हुने बताउनुभएको छ । सोहि अवसरमा उहाँले पछिल्लो समय आत्महत्याका घटनाहरु बढ्न थालेकोमा चिन्ता व्यक्त गर्दै सबै सरोकार वाला निकायले बेलैमा ध्यान नदिए यसले बिकराल रुपलिने बताउनुभएको छ ।
सुनौलो खबर पत्रिकाले सहजिकरण गरेको कार्यक्रममा पालुङटार नगरपालिका वडा नं. ४ का वडा सदस्य आनन्द परियार, बेलटार टोल सुधार समितिका अध्यक्ष मन बहादुर नेपाली, टोल सुधार समितिका सचिब चिज बहादुर तामाङ लगायतको सहभागिता रहेको कार्यक्रममा बेलटारका स्थानिय बासिन्दाहरुको बाक्लो सहभागिता रहेको थियो ।
सन् १९९१ देखि सुरु भएको लैंगिक हिंसाविरुद्ध विश्वव्यापी अभियान प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० अर्थात् यो वर्ष मंसिर ९ देखि २५ सम्म मनाइँदै छ । नेपालमा यो अभियान २०५४ सालदेखि देशव्यापीरुपमा सञ्चालन हुँदै आएको हो ।
सन् १९६० को नोभेम्बर २५ मा डोमिनिकन गणतन्त्रका मिरावेल परिवारका तीन जना दिदी बहिनी पेट्रिया, मिनर्भा र मारियाको तत्कालीन त्रुजिलो तानाशाही सरकारले निर्ममतापूर्वक हत्या गरेको थियो । उक्त हत्यालाई लिंगका आधारमा हुने राजनीतिक हिंसाको रूपमा लिँदै उनीहरूको सम्मान र सम्झनामा १६ दिने अभियान मनाउन थालिएको हो ।



