गोरखा । रसुवामा गत २०८३ भदौ १० गते आएको बाढी तथा महाविपत्तिमा परेर ज्यान गुमाएका तिर्थालुहरूका परिवारका लागि प्रवासमा रहेका गोरखा, पालुङटार–५, नौखोरका युवाहरूले पाँच लाख छ सय बत्तीस रुपैयाँ रकम संकलन गरेका छन्।

उक्त विपत्तिमा नौखोरका २६ जना आफन्त, छिमेकी तथा अग्रजले ज्यान गुमाएका थिए। विपत्तिबाट प्रभावित २० घरपरिवारलाई प्रतिघर २५ हजार रुपैयाँका दरले सहयोग गर्ने निर्णयअनुसार हालसम्म १८ घरपरिवारलाई सहयोग रकम वितरण गरिसकिएको अभियानका संयोजक आशिष देवकोटाले बताए।
संस्कारसम्बन्धी कार्य अगाडि बढ्न नसकेका कारण दुई घरपरिवारलाई सहयोग वितरण गर्न बाँकी रहेको र आवश्यक प्रक्रिया पूरा भएपछि ती परिवारलाई पनि छिट्टै सहयोग रकम हस्तान्तरण गरिने संयोजक देवकोटाले जानकारी दिए। अभियानमा प्रवासमा रहेका २९ जना युवा सहभागी भएका छन्।
प्रवासमा रहेका युवाहरूले संकलन गरेको सहयोग रकम स्थानीय स्तरमा पीडित परिवारसम्म पुर्याउने कार्यमा ब्लु स्टार क्लब तथा क्लबका पदाधिकारीहरूले सहजीकरण एवं वितरणको जिम्मेवारी निर्वाह गरेका थिए।
प्रवासी युवाहरूले गाउँका पीडित परिवारका लागि सामूहिक रूपमा सहयोग सञ्चालन गर्नुका साथै व्यक्तिगत रूपमा समेत प्रधानमन्त्री राहत कोषमा रकम प्रदान गरेको संयोजक देवकोटाले जानकारी दिए।
विपत्तिमा ज्यान गुमाएका गाउँवासीहरूको सम्झनामा स्थानीय स्तरमै स्मारक तथा स्मरण संरचना निर्माण गर्ने योजना रहेको उनले बताए।
विपत्तिमा बुबा–आमा गुमाएका बालबालिकाको शिक्षामा सहयोग पुर्याउने उद्देश्यले थप अभियान सञ्चालन गर्ने तयारी भइरहेको र यसका लागि स्थानीय तह तथा विभिन्न संघ–संस्थासँग समन्वय गर्ने योजना रहेको संयोजक देवकोटाले बताए।
‘विपत्तिको समयमा गरिएको सानो–ठूलो सहयोग पीडित परिवारलाई राहतसँगै ठूलो भरोसा र हौसला मिल्छ,’ देवकोटाले भने, ‘हामी प्रवासमा रहे पनि आफ्नो गाउँ र समाजप्रतिको जिम्मेवारीबाट टाढा छैनौँ।’
नौखोरवासी प्रवासी युवाहरूले देखाएको एकता, सहकार्य र सामाजिक उत्तरदायित्व तथा स्थानीय रूपमा ब्लु स्टार क्लब र त्यसका पदाधिकारीहरूले गरेको सहजीकरणले राहत अभियानलाई प्रभावकारी रूपमा पीडित परिवारसम्म पुर्याउन सहयोग पुगेको महासचिव अन्जन देवकोटाले जानकारी दिए।



