गोरखाको पालुङटार नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ को विकास निर्माण तथा सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र नतिजामुखी बनाउन भदौ आठ गते खरिद योजना तर्जुमा गोष्ठी एवं कार्यसम्पादन सम्झौता कार्यक्रम आयोजना गरेको छ। बाह्रपिर्केस्थित कृषि विकास तथा पशु सेवा शाखाको सभाहलमा सम्पन्न कार्यक्रममा सार्वजनिक खरिदलाई वार्षिक योजना र बजेटसँग जोडेर समयमै आयोजना पूरा गर्ने निर्णय गरिएको छ।
कार्यक्रममा नगर प्रमुख विवस चिन्तन, उपप्रमुख वन्दना पाण्डे, प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर वि.सी., वडा अध्यक्षहरू, शाखा प्रमुखहरू, वडा सचिवहरू तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो। गोष्ठीमा अनावश्यक ढिलाइ हटाउने, प्रतिस्पर्धात्मक तथा पारदर्शी खरिद प्रणाली प्रवर्द्धन गर्ने र विकास निर्माणका काम तोकिएको समयमै सम्पन्न गर्ने विषयमा छलफल भएको छ। खरिद योजना तर्जुमाले स्रोत-साधनको उचित उपयोग, वित्तीय अनुशासन कायम र सेवा प्रवाहलाई व्यवस्थित बनाउन सहयोग पुर्याउने नगरपालिकाले जनाएको छ।
सोही अवसरमा नगरपालिकाका शाखा प्रमुखहरूसँग कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गरिएको छ। सम्झौतामार्फत प्रत्येक शाखाको जिम्मेवारी, लक्ष्य, सूचक र समयसीमा स्पष्ट पारिएको छ। कार्यसम्पादन सम्झौताले कर्मचारीमा जिम्मेवारीबोध, उत्तरदायित्व, नतिजामुखी कार्यसंस्कृति, नियमित मूल्याङ्कन र जनताप्रतिको जवाफदेहिता अभिवृद्धि भई संस्थागत सुशासन सुदृढ हुने अपेक्षा गरिएको छ।

कार्यक्रममा नगर प्रमुख विवस चिन्तनले योजनाबद्ध कार्यप्रणाली, पारदर्शिता र समयमै लक्ष्य हासिल गर्नु नै सफल स्थानीय शासनको आधार भएको बताए। उपप्रमुख वन्दना पाण्डेले समन्वय, अनुशासन र उत्तरदायी कार्यशैलीमार्फत नागरिकलाई गुणस्तरीय सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिइन्। प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर वि.सी.ले कार्यसम्पादन सम्झौताले कर्मचारीको कार्यक्षमता बढाउनुका साथै संस्थागत उत्तरदायित्वलाई मजबुत बनाउने धारणा राखे।



