गोर्खाको पालुङटारमा आयोजित चारदिने बुटक्याम्पमा तीनवटा विद्यालयका ६२ जना विद्यार्थीले सूचना तथा सञ्चार प्रविधि र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी प्रयोगात्मक प्रशिक्षण लिएका छन्। स्थानीय समस्या पहिचान गरी प्रविधिमार्फत समाधान खोज्ने र उद्यमशीलता विकास गर्ने उद्देश्यले सञ्चालित सो कार्यक्रममा सहभागी सबै विद्यार्थीलाई सीपमूलक सहभागिता प्रमाणपत्र प्रदान गरिएको छ।

बुटक्याम्पमा श्री अमरज्योति जनता माध्यमिक विद्यालयका ४७ जना, श्री भवानी माध्यमिक विद्यालयका १० जना र श्री मदानेडाँडा माध्यमिक विद्यालयका ५ जना विद्यार्थीको सहभागिता रहेको थियो। चार दिनको अवधिमा विद्यार्थीहरूलाई एआई तथा आधुनिक प्रविधिको प्रयोग, सूचना तथा सञ्चार प्रविधि, कन्टेन्ट निर्माण, उद्यमशीलता, करियर परामर्शका साथै स्थानीय समस्या पहिचान र समाधानका विषयमा प्रयोगात्मक अभ्यास गराइएको थियो।

कार्यक्रममा राकेश राजभाट, चर्चित युट्युबर तथा एआई प्रशिक्षक विश्वराज पौडेल र बाख पा डिजिटल मार्केट प्रा.लि.को प्रशिक्षक टोलीले मुख्य प्रशिक्षकका रूपमा प्रशिक्षण दिएका थिए। सिकाइपछि सहभागी विद्यार्थीहरूले एआई र प्रविधिका नयाँ पक्ष सिक्न पाएको, आफ्नो करियर र क्षमताबारे नयाँ दृष्टिकोण बनेको तथा आफ्नै ठाउँका समस्या समाधान गर्न प्रविधि प्रयोग गर्ने आत्मविश्वास बढेको प्रतिक्रिया दिएका छन्।

बुटक्याम्पमा उत्कृष्ट प्रदर्शन गर्ने शीर्ष तीन विद्यार्थीलाई क्रमशः एक वर्ष, छ महिना र तीन महिनाको निःशुल्क इन्टरनेट सेवाका साथै पदक प्रदान गरियो। त्यसैगरी सिकाइप्रति विशेष रुचि देखाउने, अतिरिक्त अभ्यास गर्ने तथा अतिरिक्त क्रियाकलापमा सक्रिय सात जना विद्यार्थीलाई पनि एकदेखि तीन महिनासम्मको निःशुल्क इन्टरनेट सेवा प्रदान गरिएको छ।

सञ्चालकहरूले चारदिने बुटक्याम्पलाई अन्त्य नभई सिकाइ यात्राको सुरुवातका रूपमा लिएको बताएका छन्। विद्यार्थीहरूलाई सिकाइलाई निरन्तरता दिन आगामी १५ दिनदेखि एक महिनासम्म पूरा गर्नुपर्ने विभिन्न व्यावहारिक चुनौतीहरू दिइएको छ। ‘सीप भए आफ्नै ठाउँमा पनि सम्मानजनक र स्वस्थ जीवन निर्माण गर्न सकिन्छ’ भन्ने मूल सन्देशका साथ विद्यार्थीहरूलाई निरन्तर सिक्न, अभ्यास गर्न र स्थानीय समस्या समाधानमा सक्रिय हुन प्रेरित गरिएको थियो।

पालुङटारका सहभागी विद्यार्थीहरूले पूरा गर्ने चुनौतीहरूको मूल्याङ्कन गरी आगामी दिनमा पनि उत्कृष्ट विद्यार्थीहरूलाई थप अवसर, मार्गदर्शन र प्रोत्साहन प्रदान गरिने आयोजकले जनाएको छ। यसअघि बाख पा डिजिटल मार्केट प्रा.लि.ले गत आर्थिक वर्षमा लमजुङको सुन्दरबजार नगरपालिकामा सञ्चालन गरेको बुटक्याम्पपछि एकमहिने चुनौती पूरा गर्ने चार जना विद्यार्थीलाई क्रमशः दस हजार र पाँच हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरी प्रोत्साहन गरेको थियो।



