गोरखा, २९ असार । पालुङटार नगरपालिका वडा नम्बर ४ बाह्रपिर्केमा २ करोड ५५ लाख रुपैयाँको लागतमा निर्मित पशु सेवा तथा कृषि विकास शाखाको नयाँ भवन उद्घाटन तथा हस्तान्तरण गरिएको छ। विक्रम संवत २०८३ साल असार २९ गते सोमबार आयोजित एक विशेष समारोहका बीच पालुङटार नगरपालिकाका नगरप्रमुख विवश चिन्तनले भवनको उद्घाटन गरे। ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना, आर्थिक करिडोर कार्यालय बुटवलका आयोजना प्रमुख डाक्टर उत्तम आचार्यले नगरपालिकालाई भवनको दस्तावेज र साँचो हस्तान्तरण गरेका हुन्। पालुङटार नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष मानबहादुर पौडेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।

भवनको उद्घाटन गर्दै प्रमुख अतिथि एवं नगरप्रमुख विवश चिन्तनले अब कृषि र भेटनरी शाखाको आफ्नै सुविधासम्पन्न भवन बनेकाले यो कार्यालय अन्यत्र कतै नसर्ने स्पष्ट पारे। उनले पालुङटारमा ५०० भन्दा बढी किसान दूध बिक्री गरेर आत्मनिर्भर बनेको जानकारी दिँदै महिलाहरूलाई विभिन्न सीपमूलक तालिम दिएर उद्यमी बनाइएको स्मरण गरे। कार्यक्रमका विशिष्ट अतिथि एवं पालुङटार नगरपालिकाका नगर उपप्रमुख बन्दना पाण्डेले नवनिर्मित भवनले व्यावसायिकतातर्फ उन्मुख किसानहरूलाई थप सबल बनाउन सहयोग पुर्याउने विश्वास व्यक्त गरिन्।

त्यस्तै, विशिष्ट अतिथिका रूपमा रहेका ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनाका प्रमुख डाक्टर उत्तम आचार्यले नवनिर्मित भवनले स्थानीय स्तरमा कृषि करिडोरको विकास र उद्यमशीलतामा टेवा पुग्ने बताउँदै शुभकामना मन्तव्य राखेका थिए। कार्यक्रममा पालुङटार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले स्वागत मन्तव्य राख्दै नयाँ पूर्वाधारले सेवा प्रवाहलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उल्लेख गरे।

कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कुल २ करोड ५५ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको सो भवनमा आयोजनाको तर्फबाट थप ३ लाख रुपैयाँ बराबरको फर्निचर र ल्याबका सामग्रीहरू समेत जडान गरिएको छ। भवनमा दुईवटा व्यावसायिक सटरहरूको व्यवस्था गरिएको छ, जहाँ पशु चिकित्सक वा कृषि अधिकृतहरूबाट प्राविधिक परामर्श र उपचार गराएपछि किसानहरूले आवश्यक सामग्रीहरू सिधै खरिद गर्न सक्नेछन्। उक्त भवन निर्माणका लागि विक्रम संवत २०७९ साल माघ ९ गते सम्झौता भई विक्रम संवत २०८० साल माघ ८ गतेभित्र सम्पन्न गर्नुपर्ने लक्ष्य राखिएको थियो।




