पालुङटार, गोरखा । गोरखाको पालुङटार नगरपालिकाले कृषि योग्य जमिनको संरक्षण, बाँझो जमिनको सदुपयोग तथा व्यावसायिक कृषि प्रवर्द्धन गर्ने उद्देश्यले ‘भूमि बैंक कार्यक्रम कार्यविधि, २०८२’ कार्यान्वयनमा ल्याएको छ। नगरपालिकाभित्र रहेका खेतीयोग्य तर विभिन्न कारणले प्रयोगविहीन अवस्थामा रहेका जमिनलाई पुनः उत्पादन प्रणालीमा जोड्दै कृषि उत्पादन वृद्धि, रोजगारी सिर्जना र स्थानीय अर्थतन्त्र सुदृढीकरण गर्ने उद्देश्यका साथ यो कार्यक्रम सञ्चालन गरिएको हो।
नगरपालिकाले ‘भूमि बैंक कार्यक्रम कार्यविधि, २०८२’ को दफा ५ उपदफा (१) को घ तथा अनुसूची-१ बमोजिम भूमि बैंकमा जग्गा दर्ताका लागि सार्वजनिक सूचना समेत प्रकाशन गरेको छ। पहिलो पटक मिति २०८३/०२/०१ गते सूचना प्रकाशन गर्दै नगरपालिकाले आगामी १५ दिनभित्र आवश्यक कागजातसहित आवेदन पेश गर्न जग्गाधनीहरूलाई अनुरोध गरेको छ।
कार्यविधिको दफा ३ उपदफा (१) को (क) बमोजिम कस्ता जग्गा सूचीकृत हुन सक्छन् त ? कम्तीमा २ रोपनी वा सोभन्दा बढी खेतीयोग्य तर बाँझो रहेका जग्गाधनीहरूले आफ्नो जग्गा भूमि बैंकमा सूचीकृत गर्न सक्ने व्यवस्था गरिएको छ।
यसरी भूमि बैंकमा दर्ता हुन आएका जग्गाहरूलाई सडक पहुँच, सिंचाइ सुविधा, उर्वराशक्ति, जैविक सुरक्षा तथा क्षेत्रफलका आधारमा वैज्ञानिक रूपमा वर्गीकरण गरिने कार्यविधिको दफा ३ उपदफा (१) को (ख) मा उल्लेख छ। यसरी सूचीकृत भएका जग्गाहरू कृषि कार्य गर्न इच्छुक कृषक, कृषक समूह, सहकारी तथा कृषि फर्मलाई नियमानुसार उपलब्ध गराइने व्यवस्था नगरपालिकाले मिलाएको छ।
यस कार्यक्रममार्फत उत्कृष्ट उत्पादन गर्ने कृषकलाई प्रोत्साहन र प्राविधिक सहयोग, बाँझो जमिनको उपयोगमा वृद्धि, उत्पादनमुखी कृषि प्रणालीको विकास, युवाहरूलाई कृषि उद्यमतर्फ आकर्षण तथा नगरपालिकालाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउने दीर्घकालीन लक्ष्य लिइएको छ। साथै, भूमि बैंकमार्फत प्राप्त जग्गामा उत्कृष्ट उत्पादन गर्ने कृषकहरूलाई प्रोत्साहन तथा आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउने व्यवस्था समेत कार्यविधिमा समावेश गरिएको छ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बि.सीले सम्पूर्ण जग्गाधनीहरूलाई आफ्नो प्रयोगविहीन अवस्थामा रहेको खेतीयोग्य जमिन भूमि बैंकमा दर्ता गरी यस उत्पादनमुखी अभियानमा सहभागी हुन हार्दिक अनुरोध गर्नुभएको छ। कार्यक्रम सम्बन्धी थप विस्तृत जानकारी आवश्यक परेमा पालुङटार नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क गर्न समेत नगरपालिकाले आग्रह गरेको छ।
यस्तो छ सूचना ।

Screenshot



