बेसीशहर नगरपालिकाले कार्यपालिकाबाट भएका सार्वजनिक सेवाप्रवाह, भौतिक विकास निर्माण, चालु योजना र वित्तिय अवस्थाका बारे नगरबासीलाई जानकारी गराउने उद्देश्यका साथ मंगलबार बेसीशहरमा सार्वजनिक सुनुवाई गरेको छ ।
नागरिक सहभागिता, जवाफदेहिता, उत्तरदायित्व, पारदर्शिता र सुशासन कायम गर्दै नागरिकलाई प्रभावकारी सेवा प्रदान गर्न र नगरपालिकाको सेवा, विकास निर्माण, बजेट र योजना तथा कार्यक्रममा नागरिकको प्रत्यक्ष सम्बन्ध जोड्न नगरपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा आर्थिकवर्षको दोस्रो चौमासिक अवधिमा भए, गरेका कामको बारेमा प्रमुख प्रशासकीय अधिकृत इमनाथ कंडेलले जानकारी गराउनुभएको थियो । कंडेलले चालु बर्षको साउनदेखी फागुनसम्म ३५ प्रतिशत वित्तिय प्रगती भएको जानकारी गराउनु भयो । बेसीशहर नगपालिकाले चालु बर्षको दोस्रो चौमासिक अर्थात ८ महिनाको अवधिमा पुँजीगत तर्फ ४१ प्रतिशत योजना सम्पन्न र ७० प्रतिशत योजनाको सम्झौंता गरेको कूल ५ सय ५० वटा योजनामा २ सय २६ वटा सम्पन्न भई ४१ प्रतिशत र ३ सय ८५ वटा सझौंता भई ७० प्रतिशत योजना सम्झौंता भएको प्रमुख प्रशासकीय अधिकृत कंडेलले बताउनुभयो ।
नगरपलिकाले चालुबर्षको ८ महिना (साउनदेखी फागुनसम्म) कूल बजेट ८१ करोड ३५ लाख ३४ हजार ६ सय ५९ रुपैया रहेकोमा २७ करोड ९६ लाख ६९ हजार ७ सय ३२ रुपैया अर्थात ३४ प्रतिशत भन्दा बढी खर्च भएको सार्वजनिक सुनुवाईमा उहाँले जानकारी गराउनुभयो ।
सार्वजनिक सुनुवाईलाई निष्पक्ष र पूर्वाग्राह रहित बनाउने लक्ष्यका साथ संयोजन तथा सहजीकरणका लागि सञ्चारकर्मी सम्मिलित तेस्रो पक्षलाई जिम्मेवारी दिईएको थियो । सार्वजनिक सुुनुवाई सञ्चालन संचारकर्मीको समुहबाट पत्रकार किसान संगित नेपालीले सेवाग्राही सँग भरिएको सन्तुष्टी, असन्तुष्टी फारम र बर्हिगमन अभिमत फारमले देखाएका तथ्य र तथ्यांक प्रस्तुत गर्नुभएको थियो । सुनुवाईका लागि एकसय जना सेवाग्राही सँग सन्तुष्टि फारम भरिएको थियो भने ८६ जनासँग बर्हिगमन फारम भरि उनीहरुको भोगाई, अनुभव, राय, सुझाव र गुनासो संकलन गरिएको उहाँले जानकारी गराउनु भयो । कूल एकसय ८६ जना सेवाग्राही सँग मत लिईएकोमा ६४ जना महिला, एकसय २२ जना पुरुष रहेका छन् । जातिगत रुपमा ५४ जना दलित समुदायका, ६० जना जनजाति, ३२ जना ब्राम्हण र ४० जना क्षेत्री समुदायबाट सहभागिता रहेको जनाईएको छ । सेवाग्राहीको अभिमत अनुसार नगर कार्यपालिकाबाट प्रवाहित सेवाको अवस्था मध्यम रहेको देखिएको छ ।

कार्यक्रममा सेवाग्राहीले भौतिक पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, बिजुलीबत्ति, सडक निर्माण, नाला व्यवस्थापन, ढल निकास, सडक मापदण्ड, प्राकृतिक स्रोत व्यवस्थापन लगायतका बिषयमा आवाज उठाएका थिए । विगतको तलुनामा जनप्रतिनिधि आएपछि कामगर्न सहज भएको बताउँदै लक्ष्य अनुरुप काम हुनभने नसकेको आरोप सेवाग्राहीले लगाएका थिए । सो अवसरमा वडा नं १ की शोभा खवास र सावित्री मिश्र, वडा नं ११ का रामुराज पन्त र गणेशराज पन्त, वडा नं ७ का राम थापा, वडा नं ८ का तेजनारायण अधिकारी, श्रीकृष्ण लामिछाने र कमला केसी, वडा नं ९ मेजर बलबहादुर थापा र वडा नं १० का जुन तामाङले राय, सुझाव सँगै गुनासो व्यक्त गर्नुभएको थियो । उहाँहरुले कर कार्यालय र नगरपालिकामा दोहोरो कर तिर्नुपरेको समस्या, बजारक्षेत्रमा मात्रै नभई कम्तिमा वडाका मुख्य स्थानसम्म पुग्ने मार्गमा कालोपत्रे गरिनु पर्ने, नदीजन्य सम्पदाको उत्खनन् भएको र प्राकृतिक स्रोतसाधनको दोहन भएको, सोलारबत्तिको उचित व्यवस्थापनमा चासो नदिईएको, योजना छनौटमा पूर्वाग्रह राखिएको जस्ता विषयमा गुनासो पोख्नु भएको थियो । त्यसैगरी, व्यवसायीहरुको मर्कामा नगरपालिकाले चासो नराखेको, सडकको मापदण्ड निर्धारणमा सही निर्णय लिन नसकिरहेको, सार्वजनिक जग्गाको संरक्षण गर्न नसकेको, पर्यटकीय संरचनाको विकास गर्दा पर्यावरणीय महत्वलाई पनि ध्यान दिनुपर्ने लगायतका विषयवस्तुको उठान गरेका थिए ।
नगरप्रमुख गुमानसिंह अर्यालले सार्वजनिक सुनुवाईमा उठेका विभिन्न सवालमा स्पष्ट पार्दै नगरबासीले गरेका अपेक्षा अनुरुप विकासका कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता जनाउनु भएको थियो । सिमित साधन र स्रोतबाट अपेक्षा गरिए जति काम नभएपनि इमन्दारीताका साथ काम गर्दै आएको बताउनु भयो । नगरपालिकाले गरेका विभिन्न विभिन्न प्रकारका कार्यक्रम, योजना र विभिन्न गतिविधिहरु सार्वजनिक गर्दै पारदर्शी, जवाफदेही, जिम्मेवार बन्ने, नगरपालिका र सेवाग्राही विच सम्वन्ध सुधार गर्ने उद्देश्यले सार्वजनिक सुनुवाई गरिएको नगरप्रमुख अर्यालले बताउनु भयो ।
कार्यक्रममा नगर उपप्रमुख पद्मा गुरुङले स्वागत गर्दै न्यायिक समितिमा भईरहेको कामको बारेमा जानकारी गराउनु भएको थियो । सार्वजनिक सुनुवाई कार्यक्रम पत्रकार किसान संगित नेपाली, आश गुरुङ, मिना गुरुङ, सन्देश पौडेल र मिनराज परियारको समुहले सहजीकरण गरेको हो । सार्वजनिक सुनुवाई सहजीकरण समुहका सदस्य पत्रकार आश गुरुङले कार्यक्रम सञ्चालन गर्नुभयो भने सदस्य मिना गुरुङले कार्यक्रमको निष्कर्ष प्रस्तुत गर्दै धन्यवाद ज्ञापन गर्नुभयो ।



