२६ चैत, गोरखा । पालुङटार नगरपालिकाले व्यवसाय प्रर्वधनका लागि स्व–आर्जन कोषको ऋण फिर्ता नगरेका व्यक्ति र फर्महरुलाई कालो सुचीमा राख्ने भएको छ । तीन वर्षका लागि भन्दै २०७५ सालमा ऋण प्रवाह गरेपनि अधिकांशले फिर्ता नगरे पछि पालिकाले कालो सुचीमा राख्न लागेको योजना शाखाका कर्मचारी धनेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
ऋण लिनेमा व्यवसाय संचालन गर्दै आएका जनप्रतिनिधि, कर्मचारी र शिक्षक पनि रहेको उहाँले जानकारी दिनुभयो । ‘पाँच जना जति जनप्रतिनिधि हुनुहुन्छ, त्यस मध्ये एक जनाले ऋण चुक्ता गरिसक्नुभएको छ, र बाँकी चार जनाको चुक्ता हुन बाँकी रहेको छ उहाँले भन्नुभयो । दुई जना शिक्षक मध्ये एक जनाले चुक्ता गरिसक्नुभएको छ, र एक जनाको चुक्ता हुन बाँकी रहेको छ । त्यसै गरि स्व–आर्जन कोषको ऋण लिने चार जना कर्मचारी हुनुहुन्छ चार जना कर्मचारी मध्ये दुई जनाले ऋण चुक्ता गरिसक्नुभएको छ भने बाँकी दुई जनाको ऋण चुक्ता हुन बाँकी रहेको छ । जनप्रतिनिधि, शिक्षक र कर्मचारी गरी ११ जना बाहेक अन्य व्यवसायीले ऋण लानुभएको हो,’ उहाँले भन्नुभयो ।
वार्षिक दुई प्रतिशत ब्याजदरमा ५० हजारदेखि बढीमा ६ लाखसम्म ऋण उपलब्ध गराइएको भए पनि ‘स्व–आर्जन प्रर्वधन कोषमार्फत् उहाँहरुलाई २०७५ सालमा तीन वर्षका लागि ऋण दिएको थियो । उहाँले भन्नुभयो, ‘करिब चार सय जनाले ऋण लानुभयो, तर अहिले सम्म ३३ जनाले मात्र ऋण चुक्ता गर्नुभएको छ, बाँकीले छैन ।’
ऋण रकम नउठेपछि पालिकाले दुई वर्षयता कोषमा रकम समेत हालेको छैन । ‘२०७५ सालदेखि कोष स्थापना गरेर वर्षैपिच्छे बजेट हाल्दै गरेको भए पनि लगेको ऋण नै नउठेपछि दुई वर्षदेखि बजेट हाल्न छोडेको छ । श्रेष्ठले भन्नुभयो । ऋण रकम फिर्ता नगर्ने ऋणीहरुका लागि पालिकाले अन्तिम पटकका लागि चैत र वैशाख मसान्त सम्म समयसिमा तोकेको छ ।
नगरपालिकाले फागुन २४ गते सार्वजनिक सूचना जारी गर्दै जनप्रतिनिधि, कर्मचारी र शिक्षकलाई चैत्र मसान्त र अन्य व्यवसायीलाई वैशाख मसान्त सम्मको समय सीमा दिएको हो । उक्त समय सीमाभित्र पनि ऋण रकम चुक्ता नगरे जनप्रतिनिधि, कर्मचारी र शिक्षकको हकमा तलब भत्ताबाट रकम कट्टा गर्ने र अन्य ऋणीको हकमा सेवा सुविधा रोक्का गर्न सम्बन्धित कार्यालयमा पत्राचार गर्ने पालिकाद्वारा जारी सूचनामा भनिएको छ ।
पालुङटारले व्यवसायीलाई दिएको स्व–आर्जन कोषको ऋण फिर्ता नभए ःकालो सुचीमा राख्ने



